प्युठानमा जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु, कर्मचारी निधनको शोकमा गुल्मीको प्रशासन कार्यालय बन्द

No Images Found

गल्मीः बुधबार प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा जिप दुर्घटना भएको छ ।

गुल्मीबाट नयाँ वर्ष मनाउन स्वर्गद्वारी जाने क्रममा लु१ज १६५५ नम्बरको जिप प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि मुसिकोट नगरपालिका-३ का चालक २२ वर्षका केशव कार्की, रेसुङ्गा नगरपालिका-७ का ३५ वर्षीय कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट-७ निवासी ३६ वर्षका ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजा निवासी ३८ वर्षका श्याम न्यौपाने र खरिदार मालिका गाउँपालिका-७ निवासी ३५ वर्षका यमलाल पन्थीको मृत्यु भएको छ ।

जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका छन् । घाइते ७ जनालाई बुधवार नै नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगेर उचार भइरहेको छ ।

दुर्घटनामा गम्भीर घाइते सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरा हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो । दुर्घटनामा परेर घाइते ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली दुर्घटनामा परेपछि प्रमुख जिल्ला अधिकारी रुद्रादवी शर्मासहितको टोली प्युठान पुगेको थियो । जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको टोली दुर्घटनास्थल र घाइतेहरुको अबस्था बुझेर गुल्मी फर्किएका छन् ।

मृतक ५ जनामध्ये स्याङजा निवासी श्याम न्यौपानेको शव आफन्तले बुझेका छन् । अन्य ४ जनाको शव श्रद्धाञ्जलीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा राखेर आफन्तलाई बुझाइने छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मी आज एक दिन पूर्णरुपमा बन्द हुने भएको छ ।

४ जना कर्मचारीको दुर्घटनामा परी मृत्यु भएको शोकमा आज कार्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको जील्ला प्रशासन कार्यालय गुल्मीले बताएको छ । साथै अत्यावश्यकबाहेकका सेवा भने ५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको पनि बताइएको छ ।