भारतबाट फर्किएको युवाको कोरोना संक्रमणका कारण मृत्यु

No Images Found

काठमाडौंः सुर्खेतका ३१ वर्षीय एक युवकको शुक्रबार बिहान कोरोनाभाइरसको संक्रमणको कारण बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ।

गुर्भाकोट नगरपालिका १३ सुर्खेतका ती युवक एक साताअघि मात्र भारतबाट फर्किएका थिए।

पिसिआर परीक्षणका क्रममा चैत ३१ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। सोही दिन नै उनी अस्पताल भर्ना भएका थिए।

उपचारका क्रममा शुक्रबार बिहान साढे सात बजेतिर नेपालगञ्जस्थित भेरी अस्पतालमा उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

वलीका अनुसार मृतकमा यसअघि कुनै पनि प्रकारको दीर्घ रोगको समस्या थिएन।

यो सँगै बाहिरी जिल्लाबाट बाँके उपचारका लागि लगिएका ९३ जनाको हालसम्म कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। बाँकेका जिल्लाका मात्रै ५९ जनाको मृत्यु भएको छ । हालसम्म बाँकेमा जम्मा १५२ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।