निषेधाज्ञासँगै उपत्यका छाड्नेहरुको भीड बढ्यो

No Images Found

काठमाडौंः कारोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएसँगै प्रशासनले निषेधाज्ञा जारी गर्न लागेपछि काठमाडौं उपत्यका छाड्नेहरुको भीड बढेको छ ।

कलंकी, बालाजु, कोटेश्वर लगायत स्थानमा मंगलबार बिहानैबाट सर्वसाधारणको भीड लागेकोछ । उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर गइरहेका देखिन्छन् । ट्राफिक प्रहरी महाशाखा, रामशाहपथका प्रमुख एसएसपी जनकराज भट्टराईका अनुसार पछिल्लो २४ घन्टामा मात्रै ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

‘गत वर्ष एक साताका लागि लगाइएको लकडाउन हप्तैपिच्छे बढेकाले त्यस्तै हुनसक्ने आशंकामा पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिंन लागेका हुन् । विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिंडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार विगतमा जस्तो समस्या नहोस् भन्ने सोचेरै बिहीबार बिहान ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरिएको हो ।