बुटवलमा सोमबार मात्र कोरोना उपचाररत ५ जना संक्रमितको मृत्यु

No Images Found

काठमाडौंः लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार बिहानमात्र कोरोना उपचाररत पाँच जना संक्रमितको मृत्यु भएको छ। बुटवल १० रामनगरस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु हुने उनीहरू सबै पुरूष हुन्।

अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमका अनुसार सल्यान सारदा गाउपालिका वडा नं ११ का ४३ वर्षीय पुरूषको बिहान ६ बजेर ५८ मिनेटमा मृत्यु भएको हो। १८ गते कोरोना संक्रमण पुष्टि भएर सोही दिन अस्पतालमा भर्ना भएका उनलाई ज्वरो र श्वासप्रश्वासको समस्या रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ७ का ४३ वर्षीय पुरूषको सोमबार बिहान ९ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

त्यसैगरी अर्घाखाँचीको धातिवाङ ८ का ७५ वर्षीय पुरूषको बिहान २ बजेर १८ मिनेट जाँदा मृत्यु भएको छ भने बुटवल उपमहानगर पालिका वडा नं ४ का ८४ वर्षीय पुरूषको बिहान १ बजेर २४ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। अर्घाखाँचीका पुरूष वैशाख १५ गते र बुटवलका पुरूष १९ गते अस्पतालमा भर्ना भएका थिए।

त्यस्तै, बुटवल ९ का ६१ वर्षीय पुरूषको बिहान साढे ८ बजे निधन भएको अस्पतालले जनाएको छ। उनी १७ गते संक्रमण पुष्टि भएपछि १९ गते अस्पताल भर्ना भएका थिए।

मृतक सबैमा श्वासप्रश्वास र ज्वरोको समस्या रहेको अस्पतालले जनाएको छ।