म्याग्दीमा छुट्टै कोरोना ब्लक बन्दै

No Images Found

म्याग्दीः कोरोना संक्रमणको दोस्रो लहर समुदाय स्तरमामा फैलिएसँगै बेनी अस्पतालमा छुट्टै कोरोना ब्लक बनाउन थालिएको छ । निर्माणाधीन भवनका ४ कोठामा संरचनात्मक सुधार गरी अक्सिजन पाइपलाइन जडित २० बेड क्षमताको कोरोना सेक्सन निर्माण भइरहेको छ। अस्पतालमा ४ भेन्टिलेटरसहितको छुट्टै आईसीयू कक्ष पनि रहनेछ ।

अस्पतालका डा. जितेन्द्र कँडेलका अनुसार सदरमुकाम बेनीमा कोरोना संक्रमित बिरामी भर्ना गरी उपचार गर्ने छुट्टै आइसोलेसन छैन । विभिन्न निकायसँग आर्थिक तथा भौतिक सहयोग जुटाएर एक/दुई दिनमै कोरोना ब्लक सञ्चालन हुने गरी काम भइरहेको छ, कोरोना संक्रमणको फैलावटको तुलनामा आइसोलेसन निर्माणमा ढिलाइ भइरहेको पनि डा. कँडेलले बताएका छन् ।

स्पतालले कोरोना संक्रमणलाई लक्षित गरी ६२ लाख ४० हजार रुपैयाँ लागतमा अक्सिजन प्लान्ट जोडेको छ । इमर्जेन्सी, जनरल र आईसीयू कक्षका सबै बेडसम्म अक्सिजन पुर्‍याइएको छ । प्लान्टबाट दैनिक १० सिलिन्डर अक्सिजन भर्न सकिने अस्पतालले जनाएको छ ।

हाल अस्पतालमा ४ साना, ४ मझौला र ३४ ठूला गरी ४२ वटा अक्सिजन सिलिन्डर छन् । पुरानो र साँघुरा अस्थायी संरचनामा सञ्चालन भएको अस्पतालमा जनरल बिरामीसँग कोरोना संक्रमित राख्न नमिल्ने भएपछि कोरोना ब्लक बनाउन लागिएको हो ।

एउटै कम्पाउन्डमा २ छुट्टाछुट्टै भवनमा कोरोना अस्पताल र बेनी अस्पताल सञ्चालन रहने छ । बेनी अस्पतालले आईसीयूमा भने कोरोनाका बिरामी राख्नेछ ।