तनहुँमा घरभित्रै मृत भेटिइन् महिला, हत्या आशंकामा एक पुरुष प’ क्राउ

No Images Found

काठमाडौं : मंगलबार साँझ करिब ५ बजे तनहुँको व्यास नगरपालिका वडा नम्बर १० स्थित एक घरमा महिला मृत फेला परेकी छिन्।

स्थायी घर रिसिङ गाउँपालिका(७ भई व्यासमा अस्थायी रूपमा बस्दै गरेकी मृतक २८ वर्षीय मनुमाया थापा हुन्।

प्रहरीले सोही घरबाट एक पुरूषलाई हत्या गरेको आशंकापछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अरूण पौडेलले जानकारी दिएका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय मिलन ठकुरी रहेका छन्। ठकुरी मनुमाया थापाका साथी हुन्।

प्रहरीले महिला मृत फेला परेको खबर पाएपछि घटनास्थलबाट ठकुरीलाई पक्राउ गरेको हो। मृतक मनुमाया विवाहित हुन्। उनकी दुई जना छोरी र श्रीमान भारतमा रहेको प्रहरीले जनाएको छ।

घटना भएपछि स्थानीय आक्रोशित बनेका थिए। प्रहरीले मिलन ठकुरीलाई पक्राउ गर्दा स्थानीयले उनीमाथि आक्रमण गरेका थिए।

‘स्थानीय भेला भएपछि जिल्लाबाट करिब २५/३० जना प्रहरी नै खटाउनु पर्‍यो,’ एसपी पौडेलले भने,’मृत महिला फेला परेपछि पुरूषलाई अनुसन्धानका लागि ल्याएका छौं।’

यद्यपी अहिलेसम्म पीडित परिवारको जाहेरी भने आएको छैन। अनुसन्धानमा प्रभाव पर्ने भन्दै महिलाको मृत्यु कसरी भएको भन्ने प्रहरीले खुलाएको छैन, भने प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ।