तीनवटा मुलुकका लागि सातामा एउटा हवाई उडान खुला

No Images Found

काठमाडौं : नेपाल सरकारले तीनवटा मुलुकका लागि नियमित उडान खुला गरेको छ । चार्टर्ड उडानमा अनियमितता हुन सक्नेभन्दै सातामा एक उडान हुने गरी चीन, कतार र टर्कीका लागि उडान खुला गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमणको दोस्रो लहर रोकथामाका लागि तेस्रो मुलुकमा जान वा आउन हवाई उडान रोकेको थियो ।

उडान नभएको समयमा हुन सक्ने विभिन्न किसिमका अनियमिततालाई रोक्न यस्तो निर्णय गरिएको पर्यटन मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

सरकारले ती मुलुकबाट नेपाल आउने यात्रुले कोभिडविरुद्धको दुवै मात्रा खोप लगाएको भए होम क्वारेन्टिनमा बस्नुपर्ने, एक मात्रा मात्रै खोप लगाएको भए तीनदिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने, ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट मात्रै लिएर आएको भए १० दिन अनिवार्य होटल क्वारिन्टनमा बस्नु पर्ने निर्णय गरेको छ ।

चार्टर्ड उडानका नाममा कसैले कमाउने र कसैलाई आर्थिक रुपमा नोक्सानी पर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको मन्त्री ढकालले बताएका छन् ।

भारतमा यसअघिदेखि नै सातामा एउटा उडान हुँदै आएको छ ।