कोरोना महामारी र स्थानीय नर्सहरुको कथा ‘मायाको दैनिकी’

No Images Found

जसिन्द्र श्रीपाली, काठमाडौ:

एउटा समय थियो एस.एल.सी.पश्चात के विषय लिएर पढ्ने ? कुन क्षेत्र संग सम्बन्धित विषय पढ्ने भन्ने त्यो समय कसैले स्वास्थ्य संग निकट विषय नर्स,अहेव,अनमी पढ्ने ईक्षा राख्यो भने मात्रै पनी सुन्नेहरु नाक खुँम्च्याउथे निधारमा मुजा पार्थे अर्थात नर्स पेशालार्ई समाजमा हेर्ने दृष्टिकोण सकरात्मक भैसकेको थिएन । मान्छेहरु गाँउघरकै लवजमा भन्थे डाउटर भएर कति कमाई हुन्छ र यत्रो दुख गरि पढ्नु । नर्सहरु उत्पादनमा निकै ह्रास आएको थियो, कोहि पढिहाले पनि बिचमै अलमलिन्थे त्यहि देखेर पनि प्राय अभिभावक आफ्नो सन्तानलाई यो क्षेत्र रोज्न दिदैन थिए ।

नेपालमा करिब ९५ हजार भन्दा माथी नर्स छन् । सरकारी र निजी क्षेत्रबाट गरी प्रत्येक वर्ष करिब पाँच हजार जना नर्स उत्पादन हुन्छन् । यी मध्ये अधिकांशले जागिर पाउँदैनन् । अस्पतालहरुले पनि धेरै अनुभवी र क्षमतावान नर्सहरु खोज्छन् । नयाँ एवं अनुभव नभएका नर्सहरु घरमै बस्न बाध्य छन् । पछि गएर जागिर पाउने आशमा धेरै नर्स स्वयंसेवीका रुपमा अस्पतालहरुमा काम गर्न बाध्य छन् । पैसा हुनेहरु थप अध्ययनका लागी विदेश जान्छन् भने केही नर्सले मात्र नेपालको निजी मेडिकल कलेज एवं अस्पतालमा जागिर पाउँछन् । नर्सहरुको बढ्दो विदेश पलायनले नेपालमा क्षमतावान नर्सहरु बढ्न सकेका सकेका छैनन् भने पुराना नर्सहरु प्रतिस्थापन हुन सकेका छैनन् । विकसित मुलुकहरुले नेपाल जस्ता विकासोन्मुख राष्ट्रबाट क्षमतावान नर्सहरु लानु पनि अर्को समस्या हो । विदेश जाने मोहका कारण पनि नयाँ पुस्ता नर्सिङ पेशातर्फ आकर्षित छन् । उनीहरुले विदेश गएर थप तालिम र शिक्षा लिनुपर्ने हुन्छ । विदेश पलायन हुनुका मुख्य कारणहरुमा महत्वाकांक्षा, थप अध्ययन, स्वदेशमा रोजगारीको अभाव, असन्तुष्टी र विदेशमा प्राप्त हुने थप पैसा र सुविधा हो । एक अध्ययनमा उल्लेख भएअनुसार ५५ दशमलव २२ प्रतिशत नर्स आफ्नो पेशाबाट सन्तुष्ट छैनन् । तर यही विरोध र अपमान बिच जन्मिएको एक स्वास्थ्थकर्मी हुन माया बुढा ।

परिवारमा नर्स विषय नै पढ्नुपर्छ भन्ने भनाई थिएन,र नर्स पढ्दै गर्दा विरोध हुने अवस्था पनी थिएन तर आफुले पढेको विषयले सफलतामा पुर्याउछ पुर्याउदैन भन्ने प्रश्नले भने मायालाई चिमोटीरहन्थ्यो परिवार भित्र नभएतापनी केहि नाता लाग्ने आफन्तले सोही विषय पढेकोले मायालाई मन चुलबुलिदा समहाल्ने ढाडस भने मिलेको थियो ।

समय बित्दै गयो मायाको पढाई सकियो उनी मुक्तिनाथ अस्पताल बाग्लुङमा काम गर्ने भईन् पढ्नु र मैदानमा खटिएर काम गर्नु निकै फरक कुरा रहेछ माया त्यो भन्दा पहिले केवल पढ्न मात्रै पढेको सम्झन्छन तर जब उनी अस्पतालमा काम गर्न थालीन तब उनले आफैलाई चिन्न थाले , आफैलाई बुझ्न थाले आफ्नै परिचय संग परिचित भए ।

मायाले त्यहीँ दिन देखि आफु हुनुको महत्व बुझिन् , आफ्नो पेशा प्रतिको उत्तरदायीत्वो वोध गरिन् । मायाले अस्पताल लाई मन्दिर सम्झेर विरामीलाई भगवान मानेर आफ्नै संसार भुलेर अरुको ओठमा हासो खोज्ने यात्रामा आफुलाई थप अग्रसर गरिन् । नर्स भनेको पोलीरहने आलो घाउलाई मलमले झै सितलता दिदै दियो झै बलीरहने सियो झै चलिरहने गर्विलो पेशा हो भन्ने महशुस गरिन , आफुले पहिरिएको सेतो बस्त्र वा एप्रोन आफ्नो साहासिक चिनारीको पहिचान रहेछ भन्ने महशुस गरिन ।

माया दिनहु विरामीको कथा ब्यथा सुन्न लागिन उनीहरुको चोट आफ्नो दुखाई महशुस गर्न लागीन् , विरामीहरु उनी छेउमा पुग्दा शितलता प्राप्त गरेको आभाष गर्न थाले , मायालाई यो क्षणहरु झनै प्रिय लाग्न थाल्यो प्रत्येक विरामीलाई उनी आफ्नो आफन्त सग दाजेर हेर्ने गर्थे तव ती विरामीहरु झनै आत्मिय लाग्थ्यो । मायालाई त्यही बेलादेखि पैसा मात्र ठुलो रहेछ भन्ने कुरा पटक्कै मनपर्न छोड्यो, बरु सबैभन्दा ठुलो कुरा त समय रहेछ प्रेम रहेछ , आत्मीयता रहेछ भन्ने आभाष गरिन ।

विरामीको कथा र पिडा सुनाउदै आला घाउहरुमा मलम लगाउँदै जादा मायाको तीन वर्ष बाग्लुङको मुक्तिनाथ अस्पतालमा बित्यो, मायाले तीन वर्षको प्रत्येक दिन आफ्नो भेग समझना गरे, गाँउघर सम्झिए प्रत्येक विरामीलाई आफ्ना आफन्तझै देखे नातेदार सम्झिए अब मायालाई आफनै गाँउ ठाँउमा आएर सेवा गर्न मन कहलीएर आयो आफ्नै जन्मभूमीमा सेवा गरे भने जन्मभूमीका माटोले समेत खुशी थपिएको आभाष गर्लान भन्ने मायालाई लाग्यो ।

अन्ततः माया आफ्नै जन्मभुमी तमान फर्किए र तमान स्वास्थ्यचौकी आफ्नै पालीका र गाउँ बासिलाई सेवा दिन तयार भईन् ।

तमान स्वास्थ्यचौकीमा आएका सुरुसुरुका दिनहरु मायाको लागी निक्कै उल्लासमय थियो, उनलाई आफ्नै जन्मभूमीमा गएर आफ्नै नातेदारको उपचारमा खटिनुमा निकै मज्जा लागीरहेको थियो उतिबेला छोरी बिग्रीन्छन नर्शिङ पढाउनु हुन्न भनरे परिवारलाई अर्ति दिनेहरु पनी अहिले मायालाई बाटोमा भेटेसि आर्शिवाद दिएर जान्थे, मान्छेको विचार फेरिएकोमा मायालाई निकै खुशी लाग्थ्यो ।

समय न हो सधै एकनासको नचल्ने रहेछ, यतिबेला सिंगो विश्वसमुदायले कोरोनाको ठुलो मार खेप्नुपरेको छ । सबैले केही न केहि गुमाउन परेको छ यसमा माया पनी बाकी रहेनन् । मायाले अरुले जस्तै आफन्त गुमाउन त परेन तर उनले आफुमा बगेको निरन्तरको खुशी गुमाईन, हासो लुटियो र खेपी रहेकी छिन एउटा गम्भिर चुनौती ।

माया तमान स्वाथ्यचौकीमा कार्यरत छिन उनीसंगै उक्त स्वास्थ्यचौकीमा हाल ७ जना कर्मचारी कार्यरत छन र सोही स्वास्थ्थचौकी रहेको तमानखोला गा.पा.३ तमान र ४ लाम्मेलामा गरेर ११४ जना संक्रमीत छन् । ७ जना कर्मचारी भएता पनि हाल दुई कर्मचारीमा संक्रमण देखिएकोले होमआइसोलेसनमा छन भने बाकी संक्रमीतको सम्पर्कमा आएको हुनाले घरमै बसिरेका छन, यो समय माया अस्पतालमा एक्लै खटिएकि छिन ।
मायाको यतिबेलाको समय निकै अस्तब्यस्त भैरहेको छ आफ्नै हातका घडीले आफैलाई समय दिएको छैन , कति बेला कहाँ पुग्नुपर्ने हो स्वंयमलाई थाहा छैन ।

माया भावुक हुदै सुनाउछन , कुनै चोट यति असह्य हुनेरहेछ कि दुखाई बढिरहदा पनी ऐया भन्न नसकिने, बेस्सरी पोले पनी आच्चु भन्न नसकिने अनी बेस्सरी थकाई लागेपनी सुस्केरा हालेर बसिरहन नसकिने ।

यो २ हप्ताको बिचमा माया संग औलामा गन्न नसकिने भोगाईहरु छन, तीन वर्षको अवधिमा गर्न नपाएको अनुभवहरु थपिएका छन । केही बडो यादगार हुनेछन केही बडो तितो लाग्ने ।

कतिबेला कस्लाई गाह्रो पर्छ थाहा छैन, कतिबेला कस्को फोन आउछ पत्तो हुदैन बास २४सै घण्टा सक्रिय भएर बस्नुको विकल्प छैन माया संग । गाँउघरमा यातायातको सुविधा छैन, गाँउ ठाउँ निकै फिजारिएको छ एक ठाँउबाट अर्को ठाँउ पुग्न कम्तिमा पनी १ घण्टा पैदल हिड्नुपर्छ, बर्खायामको समय पानी झरि निरन्तर परिरहेको छ विरामी स्वयम हिडेर अस्पताल आईपुग्ने अवस्था छैन टाढाको बाटो बिरामी कहाँ पुग्न नपाउदै केही घटना घट्छ कि भन्ने डरले मायालाई निकै पिरोल्छ ।

अस्पताल देखि मायाको घर पुग्न करिव तीस मिनेट लाग्छ तर उनी यतिबेला अस्पताल नजिकैपर्ने आफन्तकोमा डेरा गरि बसेका छन ।

आफ्नै गाँउ, नजिकैको बाटो छ किन डेरा लिएर बस्नुभएको ? भन्ने प्रश्नमा माया भन्छन एक त दिनभर विरामीकै सम्पर्कमा हुनेभएकोले म पनी ढिलो चाडो कोभिड बाट अछुत रहुला भन्ने लाग्दैन परिवारमा जेष्ठ उमेरका अभिभावक र स–साना नानीबाबु छन मेरो कारण उनीहरुलाई समस्या हुन सक्छ भने अर्को कुरा मलाई यहाँ बसे पछाडि माथी माथीका गाँउ जस्तै हिले र आवश्यकता परेको बेला लाम्मेला सम्म पुग्न केहि सहज पर्छ, बाटो केही छोटिने भएको कारण अली सहज होला भन्ने लाग्छ भन्छन ।

अरुलाई पोशिलो र तागतीला खाना खानुस है भन्दै आग्रह गर्ने मायाको थुप्रै रात काचो चाउचाउ र बिस्कुटमा टरेको छ । दिनभरको थकानले शरिर पुरै शिथिल हुन्छ यस्तो बेलामा खाना बनाउन जागँर चल्दैन, त्यसमाथी कहिलेकाही खाना सुरु गर्न नभ्याउदै विरामी लाई साह्रो परेको फोन आउछ अनी त फेरी गास बाकी राखेर आस बोकेर विरामी भएकोमा कुद्छन माया ।

यसरि डौडधुप गरिरहदा पनी मान्छेहरु स्वाब दिन मान्दैनन् , उनीहरुमा पुरापुर कोभिडको लक्षण देखिन्छ र पनि उनीहरु अझै धामी झाक्री माथी विश्वास गर्छन, बलि चढायो भने निको हुने कुरा सुनाउँछन् मान्छेमा हराएको चेतना देख्दा मन खिन्न हुने माया सुनाउछन् ।

यस्तो जटिल समस्यामा एक्लै खटिरहनु परेको छ कहिलेकाही दिक्क लाग्दैन भनेर सोध्दा लामो स्वास तान्दै माया सुनाउछन जे हुन्छ त्यो स्विर्कानै पर्ने रहेछ अहिले म यहि आभाष गरिहेको छु , दिक्क लागेर के गर्नु पहिलो कुरा यो मेरो कर्तब्य हो अर्को कुरा बाध्यता मैले चाहेरपनी सबै सबै घटना स्विकार्नुको अर्को बिकल्प छैन, जस्तो कि यतिबेला पानी परेको छ मेरो चाहाले यो रोकिदैन मैले जसरि भएनी स्विकार्नै पर्छ आशा गरौ यो समय पनि बितेर जानेछ ।

कसरी सम्हालिनु हुन्छ ? भन्ने प्रश्नमा माया फिस्स हास्छिन र भन्छिन् सम्हालीन पहिले के कुराले बिरत्तिएको हो भन्ने कुरा प्रमुख हो नयाँ कुरा खोजेर भन्दा पनी त्यहीँ परिस्थिती हेरेर सम्हालीन्छु तर म संग पनी मन छ कहिलेकाही नमज्जाले दुखी दिन्छ , यस्तो परिस्थीतीमा पनी केही आफन्तहरु मिथ्या आरोप लगाई रहेका छन् स्वास्थ्यकर्मीलाई गज्जब छ भत्ता पचाएका छन लखरलखर हिडेकाछन भनेर सायद पराई मान्छेले भनेको भए यसरि बिजाउदैन थियो होला, आफन्तले भनिदिदा मन खुम्चिन्छ यस्तो बेला चाहीँ आफ्नो गाउँमै सेवा गर्छु भनेर गल्ति गरेछु कि भन्ने लाग्छ फेरी पनी विरामीको मनोबल नघटोस भनेर दुख देखाउदिन ।

पालीका अन्तर्गत स्वास्थ्थ विभागले यस्तो बेला किन केही नगरेको भन्ने प्रश्न पुरापुर गर्न नपाउदै माया सुनाउछिन हैन स्वास्थ्य प्रमुख संग नियमित सल्लाह भएको छ , हाल ३ र ४ बाहेक अन्य स्वास्थ्यचौकीमा त्यस्तो कुनै समस्या छैन तसर्थ एक दुई दिनमै अन्य वडा बाट यहाँ थप कर्मचारी ल्याउने वा स्वयम उहाँ नै आउने जस्तो जानकारि छ सायद छिटै जानकारि आउला ।

सलाम सेता सिपाहीहरु नर्सिङ भनेको त्यो सेवा हो, जसले व्यक्तिको स्वास्थ्य रक्षा गर्ने, स्याहारसुसार गर्ने, रोगबाट बचाउने र पुर्नस्थापना गर्ने कार्य गर्दछ। यस्तो कार्य गर्नका लागि सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्राप्त गरेका व्यक्तिहरू नर्स हुन् । जसले सेतो पहिरनमा अस्पताल वा स्वास्थ्यसँग सम्बन्धित निकायमा रात दिन सेवा प्रदान गर्दै आइरहेका छन्। यो उच्च जोखिमको समयमा पनी आफ्नो ज्यानको बेप्रवाह नगरि खटिनुहुने माया र माया जस्तै सम्पुर्ण स्वाथ्यकर्मी प्रति उच्च सम्मान छ ।