अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने, सबैलाई पूर्वतयारी गर्न प्राधिकरणको आग्रह

No Images Found

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्नसक्ने बताएका छन् ।

उनले दक्षिण एसियाको मौसम सम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताएका छन्। अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने समेत बताएका छन् ।

डा. पोखरेलले बाढी, पहिरो, रोगब्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताएका छन् । उनले जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने आग्रह गरेका छन् । साथै सर–सामग्रीको जोहो गर्ने बेला यही भएकोले तयारी थालनी गर्न पनि भनेका छन् ।

उनले विपत् बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरेका छन् ।