राउटे युवतीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न महासंघको आग्रह

No Images Found

काठमाडौं : राउटे समुदायका युवतीमाथि भएको यौन दुर्व्यवहार घटनाप्रति नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार महासंघले एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति आपत्ति जनाएको हो । महासंघले घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कार्बाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छः ‘यस घटनामा संलग्न होटल सञ्चालक गुर्भाकोट नगरपालिकाका विनोद पुन तथा संलग्न व्यक्तिहरू चमन घर्ती (जोगी) र भुपेन्द्र बुढामाथि तत्काल अनुसन्धान गरी कानूनबमोजिम कडाभन्दा कडा कारवाही अगाडि बढाउन सम्बन्धित राज्य सरकार र संयन्त्रहरु तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई महासंघ जोडदार आग्रह गर्दछ । विभिन्न बहानामा सत्ता र शक्तिको दुरूपयोग गर्दै अनुसन्धान कमजोर बनाउने, अभियुक्तहरूलाई उन्मुक्ति दिनेजस्ता कार्यहरू सम्बन्धित जिम्मेवार संयन्त्रहरूबाट नहोस् भन्ने गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

महासंघले कानूनी राज्यको प्रत्याभूत दिलाउन सम्बन्धित (स्थानीय तह, प्रदेश, संघीय) सरकार, न्यायालय, प्रहरी प्रशासन र मानवअधिकारवादी संस्थाहरूलाई गम्भीर हुन र न्याय प्रत्याभूत गर्न गराउन समेत विशेष आग्रह गरेको छ ।