रुकुम पश्चिमको एक मन्दिरबाट तीन लाख नगदसहित सुन, चाँदी र विदेशी सिक्का चोरी

No Images Found

रुकुम पश्चिम : रुकुम पश्चिमस्थित बाँफीकोट गाउँपालिका ५ मा रहेको बुरालमष्ट मन्दिरमा चोरी भएको छ । आइतवार राती मन्दिरबाट नगद, सुनचाँदी, स्वदेशी र विदेशी सिक्का चोरी हो ।

मन्दिरको उत्तरतर्फ रहेको फलामे ढोकाको ग्रिलको कब्जा तोडेर भित्र पसी मन्दिरमा रहेको नगद, सुनचाँदी लगायतका धनदौलत चोरी भएको बुढुमष्ट क्षेत्र विकास कोष बाँफीकोटका अध्यक्ष ध्रुवराज केसीलेबताएका छन् ।

मन्दिरमा रहेको काठको दराज फोडेर भित्र राखिएका र मन्दिरको गाडी नजिक राखिएका तीन लाख पाँच सय चालीस रुपैयाँ, दुई तोला सुन, चार तोला चाँदी, एक पाथी रु। १, २ र ५ का झन्डै पाँच हजार रुपैयाँ बराबरका नेपाली सिक्का, विभिन्न देशका ६५ थान विदेशी मुद्रा चोरी भएको कोषका अध्यक्ष केसीले जनाएका छन् ।

सोमवार स्थानीय जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय बाँफीकोटको टोली मन्दिर पुगेर चोरी कार्यको छानबिन सुरु गरेको जनाएको छ । चोरी कार्यमा संलग्न व्यक्ति फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नियमित साँझ र बिहान धूपबत्ती पाठपूजा हुने मन्दिरमा बिहान धूपबत्ती गर्न आउने पुजारीले चोरी भएको थाहा पाएर अध्यक्ष केसीलाई खबर गरेका थिए ।