आज पनि उच्च अंकले घट्यो नेप्से, हेर्नुहोस् कति विन्दुमा झर्यो ?

No Images Found

काठमाडौं : लगातार सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । आइतबार ६३ अंकले घटेर २ हजार ९ सय ५ विन्दुमा बन्द भएको नेप्से सोमबार करिब ७१ अंकले घटेको हो ।

यो गिरावटसँगै समग्र नेप्से २ हजार ८ सय ३४.४० विन्दुमा झरेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.४५ प्रतिशतले कम हो । सो दिन पनि कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो ।

सोमबार करिब १ लाख ३० हजार ४ सय कारोबारबाट २ सय २७ कम्पनीका २ करोड ३० लाख ११ हजार ८ सय २० कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचबाट ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० करोड रुपैयाँले कम हो । आइतबार सेयर बजारमा ११ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से घटेपछि सेयर बजारको आकार कूल बजार पुँजीकरण पनि घटेको छ । गत मंगलबार यता सबै कारोबार दिनमा नेप्से परिसूचक निरन्तर घट्दै आएको छ ।