रौतहटको मौलापुर नगरसभामा दलका कार्यकर्ताबीच झडप,१४ राउण्ड हवाई फायर

No Images Found

जनकपुरधाम : रौतहटको मौलापुर नगरपालिकाको पाँचौ नगरसभा हुने क्रममा दुई पक्षबीच झडप भएको छ । सुरक्षाकर्मीले झडप नियन्त्रणमा लिन २३ राउण्ड अश्रूग्यास र १४ राउण्ड हवाई फायर गरेका हुन् ।

अहिले मौलापुर बजार तनावग्रस्त छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमन्त्री एवं नेता प्रभु साह नगरसभाका प्रमुख अतिथि थिए । साह पक्षका कार्यकर्तासँग नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव पक्ष, नेपाली कांग्रेस र जसपा कार्यकर्ताबीच झडप भएको हो ।

बाहिरका मान्छेलाई मौला बजार समेत आउन रोक लगाएर नगरसभा गर्न खोज्दा झडप भएको स्थानीयले बताएका छन् । जसपा समर्थक कुमोद यादवले भने, ‘हरहिसाव पारदर्शी गरी नगरसभा गर्न ज्ञापन पत्र बुझाएका थियौ । तर बेवास्ता गरी नगरसभा गर्न खोज्दा अवरोध गर्ने क्रममा झडप भएको हो ।’

झडपमा प्रदर्शनकारीको ढुंगामुढा प्रहारबाट नेपाल प्रहरी सई, असईसहित ५ जना र सशस्त्र प्रहरीका सई र असईसहित ३ जना गरी ८ जना प्रहरी घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

मौलापुरका मेयर रिनाकुमारी साह पूर्वमन्त्री साहको श्रीमती हुन् । माओावादी केन्द्र छाडेर एमाले प्रवेश गरी साह मन्त्री बनेका थिए ।