मकवानपुरगढीमा भौतिक उपस्थितिमै पढाउन सुरु, हेटौंडाका विद्यालयमा भने विद्यार्थी बोलाए कार्बाही गरिने

No Images Found

हेटौडा : आजदेखि मकवानपुरगढी गाउँपालिका क्षेत्रका विद्यालयमा भौतिक उपस्थितिमै पढाइ सुरु गरिएको छ । गाउँपालिकाका सबै वडाका विद्यालयहरु विद्यार्थी भर्ना गर्न र पुस्तक वितरणका लागि खुले पनि पढाउन भने सुरु गरिएको थिएन । तर, आजदेखि विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमै पढाउन सुरु गरिएको हो ।

मकवानपुरगढी गाउँपालिकाले हिजो सबै विद्यालयका प्रधानाध्यापकहरुलाई विद्यालयबाटै पढाउन निर्देशन दिएको थियो । कोरोना भाइरसको तिब्र संक्रमणका कारण बैशाख महिनादेखि बन्द भएका विद्यालयहरुमा आजदेखि पढाइ सुरु गरिएको हो । तर मकवानपुरकै हेटौंडा उपमहानगरपालिकामा भने भौतिक उपस्थितिमा पढाउन दिइएको छैन । हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका विद्यालयले कुनै पनि बहानामा विद्यार्थीलाई विद्यालयमा उपस्थित गराए कार्बाही गर्ने चेतावनी दिएको छ । हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयले सोमबार एक सूचना जारी गर्दै भौतिक उपस्थितिमा पठनपाठन नगराउन भनेको हो ।

कोरोनाको जोखिम कायमै रहेकोले, नगरभित्रका केहीे विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गरेको जानकारी प्राप्त भएकोले त्यसो गर्न, नगराउन सूचना जारी गरिएको हेटौंडा उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत गंगाधर रिमालले बताउनुभयो । पालिकाको निर्देशनलाई अटेर गरेर विद्यालय सञ्चालन गरेमा संक्रामक रोग ऐन, २०२० अनुसार कार्बाही गरिने सूचनामा उल्लेख छ ।