हाइटीमा भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइते

No Images Found

काठमाडौं : हाइटीमा शक्तिशाली भूकम्प गएको छ । भुकम्पमा परि कम्तिमा पनि ३०४ जनाको मृत्यु भएको छ भने १८ सयजना घाइते भएका छन् ।

भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै त्यहाँका प्रधानमन्त्रीले एक महिने आपतकाल घोषणा समेत गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।

स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७.२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट(लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।

सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंग्रिदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् ।

भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौं मानिसलाई समुद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ।