नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो

No Images Found

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए । उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । 

उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरसविरुद्धको खोपको पनि योगदान रहेको बताए । साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्नु संक्रमण घट्नुको अर्काे कारण भएको उनले बताए । शनिबार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण देखिएको थियो । अहिले कूल परीक्षणमा ७ प्रतिशतमात्र संक्रमण देखिने गरेको उनले बताए ।

हिजो सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका थिए । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।नेपालमा संक्रमणदर १८.७ प्रतिशत र संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरसविरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ ।

असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्ण मात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए । यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्ण मात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ ।

१८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशतलाई लगाइएको छ । उपत्यकामा १७ लाख ४५ हजार ५७० जनालाई खोपको पहिलो मात्रा र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ वर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।

नेपालमा अहिलेसम्म संक्रमणमुक्त हुने नागरिक ७ लाख ७५ हजार ७२ जना छन् भने संक्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आइसोलेसन, एक हजार १७२ जना संस्थागत आइसोलेसन र २३६ जना क्वारेन्टिनमा रहेका छन् । -रासस